दार्चुलामा किशोर–किशोरीको शव फेला परेको छ।
जिल्लाको नौगाड गाउँपालिका–५ बासिडाँडामा बिहीबार अन्दाजी १६/१७ वर्षका किशोर किशोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दार्चुलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) जगत गाहा मगरका अनुसार नौगाड नगरपालिका–४ का सञ्जिला धामी सोही स्थानका लोकेन्द्र ठगुन्नाको शव भिरमा अड्किएको अवस्थामा फेला परेको हो।
‘अहिले दुबै शव भिरबाट निकालेर घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको छ,’ इन्सपेक्टर मगरले भने।
उनका अनुसार मृत फेला परेका किशोर किशोरीहरू प्रेम सम्बन्धमा थिए। उनीहरू बुधबार बिस्का जात्रा हेर्न घरबाट निस्केका थिए।
घटनास्थलमा मृतकका परिवार र आफन्त पुगिसकेका छन्। अब पोस्टमार्टम गरेपछि घटनाबारे थप खुल्ने इन्सपेक्टर मगरले जानकारी दिए।
उनीहरूको हत्या भएको हो कि आत्महत्या गरेका हुन् भन्नेबारे अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए।