लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवलका अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ।
तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अध्यक्षमा नियुक्त गरेका सूर्यबहादुर भट्टराईलाई कुलप्रसाद केसी नेतृत्वको सरकारले हटाएपछि लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्ष पद रिक्त रहेको थियो।
सोही पदमा आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई नियुक्त गरेको हो।
सरकारले उक्त निर्णयलाई भने अहिलेसम्म सार्वजनिक गरेको छैन।
मन्त्रिपरिषद् बैठकले श्रेष्ठसँगै अस्पताल विकास समितिको रिक्त रहेको सदस्य पदमा कपिलवस्तुकी लक्ष्मी खनाललाई नियुक्त गरेको सरकारका एक मन्त्रीले बताए।
श्रेष्ठ लामो समयदेखि बुटवलमा रही उद्योग व्यवसायमा आबद्ध थिए। श्रेष्ठलाई सञ्चार गृहको व्यवस्थापनको समेत अनुभव छ।