काठमाडौं महानगरपालिकाका विद्यालयहरूमा नयाँ शैक्षिक सत्रदेखि हरेक विद्यालयमा हरेक शुक्रबार 'बुक फ्रि डे' लागू हुने भएको छ।
महानगरले यही शैक्षिक सत्रदेखि महानगरमा सञ्चालनमा रहेका ५७ वटा सामुदायिक विद्यालयहरूमा कक्षा ९ का विद्यार्थीहरूलाई शुक्रबार ‘बुक फ्रि डे’ लागू गर्ने काठमाडौं महानगरका मेयर बालेन शाहले जानकारी दिए।
'महानगरमा सञ्चालनमा रहेका ५८ वटा सामुदायिक विधालयका कक्षा ९ का विद्यार्थीलाई विभिन्न तालिम दिने तयारी गरेका छौं,' उनले भने, 'महानगरले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ लागू गर्नेछ।'
बुक फ्रि डेका दिन अतिरिक्त क्रियाकलाप र विभिन्न सीपमूलक तालिम दिने योजना समेत रहेको महानगरले जनाएको छ।
सीपमूलक तालिममा विद्यार्थीहरूलाई महानगरको शिक्षा विभागले पाइलटिङ प्रोग्रामको रूपमा पाठ्यक्रम नै तयार गरी ९० घण्टाको कृषि तथा सहरी खेती, सौन्दर्य तथा केश श्रृंगार, काष्ठकला, प्लम्बिङ, आदि तालिम दिइने महानगरले बताएको छ।
यस्तै, मोबाइल रिपेयरिङ, पाक शिक्षाजस्ता पनि तालिम लिने महानगरले योजना बनाएको छ।
विद्यार्थीहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट (सिटिइभिटी) प्रमाणित र उद्योग विशेषज्ञहरूसँगको सहकार्यमा विकसित केएमसी स्वीकृत सीप पाठ्यक्रम अनुसार प्रमाणपत्रहरू समेत पाउनेछन्।