काठमाडौं महानगरपालिकाले विष्णुमती नदीलाई छुने काठमाडौं महानगरका १० वटा वडा समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ।
निरू महर्जनको अध्यक्षतामा ११ सदस्यीय वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरिएको वातावरण व्यवस्थापन विभागका सहायक निर्देशक सानुमैयाँ महर्जनले जानकारी दिइन्।
उनका अनुसार सञ्जालमा १० वटा वडामध्ये वडा १६ बाट २ जना र बाँकी वडाबाट १-१ जना सहभागी गराइएको छ। सञ्जालको उपाध्यक्षमा पपुल सापकोटा र सचिवमा पवनप्रसाद गोर्खाली छन्।
यस्तै, सदस्यहरूमा गोविन्द श्रेष्ठ, स्वीट थापा, सरिता बज्राचार्य, अनेश चित्रकार, नानीहेरा डंगोल, कमल काफ्ले, गौरी देवकोटा छन्। समितिमा वडा १८ बाट सदस्य थप गर्न बाँकी छ।
यस्तै सागर प्रजापती, कृपा श्रेष्ठ र विभूति मानन्धर रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको महानगरले जनाएको छ।
महानगरको वातावरण समितिका संयोजक बालकृष्ण महर्जनका अनुसार सञ्जालले समुदायस्तरमा जथाभावी फोहोर तथा प्लाष्टिक बाल्न रोक लगाउन काममा नागरिक समाजले सहजीकरण गर्नेछ।