मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध बृहत् नागरिक आन्दोलनले 'मानव–अधिकार मार्च' गर्ने भएको छ।
नागरिक आन्दोलनले बुधबार मार्च गर्ने भएको हो। नागरिक आन्दोलनले बुधबार दिउँसो ३ बजे शान्तिवाटिकादेखि संसद भवनसम्म मार्च गर्ने बताएको छ।
मिटरब्याज पीडितहरूमाथि सोमबार प्रहरीले गरेको अनावश्यक, निर्मम र अमानवीय दमनप्रति नागरिक आन्दोलनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘उक्त दमनका दौरान प्रहरीले शान्तिवाटिकाको पर्खालभित्र थुनेर अश्रुग्याँस र पानीको फोहोराले प्रहार मात्र गरेन, शान्तिपूर्ण ढंगले विरोध प्रदर्शनका निम्ति शान्तिवाटिकाबाट निस्कन लागेका महिलाहरूलाई लछारपछार गरेर, किसान–मजदुरहरूलाई टाउकोमा ताकेर लठ्ठी प्रहार गर्ने अमानवीय कृत्यसमेत गर्यो’, उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उक्त घटना मानव अधिकारको हनन् भएको भन्दै दोषीहरूको छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
‘शान्तिवाटिकाबाट समातिएका पीडितहरूलाई प्रहरीले महेन्द्र पुलिस क्लबभित्र लगेर थप कुटपिट मात्र गरेन, उपचार गर्नुपर्ने बिरामीलाई दिनभरि हिरासतमा थुन्ने कार्य समेत गर्यो। यो घटना गम्भीर मानव–अधिकारको हनन् हो। यसरी मानव–अधिकार उल्लंघन गर्ने दोषीहरूको छानबिन गरी कारबाही गर्न जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।