गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली बुधबार बुटवल आउँदै छ।
गत चैत २९ गते नेपालको राष्ट्रिय झण्डासँगै नेपाली सेनाको श्रीनाथ गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण, पुरानो गोरख गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर ४८ जना नेपाली सेनाको टोलीले गोरखाबाट जितगढीको लागि पैदलयात्रा सुरू गरेको थियो।
क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा गोरखाको रिपुमर्दन गण, तनहुँको रूरू भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रूपन्देहीको गरुड दल गण यात्रामा प्रत्यक्ष सहभागी रहेको बुटवलस्थित नेपाली सेनाको मध्यमश्चिम पृतनाले जनाएको छ।
तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखादेखि बुटवल आउँदा प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै निस्किएको उक्त टोली सोमबार पाल्पाको रामपुरमा आइपुगेको थियो।
मंगलबार पाल्पाको प्रभासमा बास बस्ने र बुधबार रूपन्देही र पाल्पाको सीमा क्षेत्र नुवाकोट गढीमा आई गोरखाबाट ल्याएका झण्डा रूपन्देहीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।
यसअघि गोरखाबाट आएको टोलीले ल्याएका झण्डालाई सतीघाट पुगेर तनहुँको टोलीलाई हस्तान्तरण गरेको थियो।
तनहुँको टोलीले पाल्पाको केलादीघाटमा पाल्पालाई हस्तान्तरण गरेको थियो भने पाल्पाले नुवाकोटगढी आएर रूपन्देहीलाई झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको मध्यपश्चिम पृतनाका पृतनापति यमप्रसाद ढकालले जानकारी दिए।
रूपन्देहीको टोलीले वैशाख ७ गते जितगढी उत्सवको दिन झण्डालाई जितगढी पुर्याएपछि गोरखा जितगढी पदयात्रा सम्पन्न हुनेछ।
युद्धमार्फत् आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग नेपाली सेनाले वि.स.१८७१ देखि ७२ सम्म युद्ध लडेको थियो।
कर्णेल उजिर सिंहको नेतृत्वमा लडेको नेपाली सेनाको टोलीले वि.सं.१८७२ वैशाख ७ गते अंग्रेज सेनालाई पराजित गरी सदाको लागि नेपालबाट फिर्ता पठाएको थियो।
अंग्रेज सेनालाई पराजित गरेको वैशाख ७ गतेको सोही दिनलाई नेपाली सेना र बुटवल उपमहानगरपालिकाले जितगढी उत्सवको रूपमा मनाउन थालेका छन्।
यस वर्ष पनि वैशाख ७ गते जितगढी उत्सव मनाइने र बुटवल उपमहानगरपालिकाको सहकार्यमा नेपाली सेनाले पुनर्निर्माण गरेको ऐतिहासिक जितगढीलाई प्रधान सेनापतिबाट उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पृतनापति ढकालले जानकारी दिए।
यसपटक जितगढी उत्सवलाई अझै व्यापक बनाउने उद्देश्यसहित गोर्खा जितगढी पैदलयात्रा सुरू गरिएको उनले बताए।
‘जितगढी उत्सवको माध्यमबाट राष्ट्रिय एकताको सन्देश जाओस् भन्ने उद्देश्य हो, त्यो सँगै एकीकरण मार्गलाई पर्यटकीय पदमार्गको रूपमा विकास गर्ने र हाम्रा ऐतिहासिक धरोहर गढी किल्लाहरूको प्रचारप्रसार गर्दै इतिहासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य पनि हो,’ उनले भने।
गोरखाबाट जितगढीको लागि पहिलोपटक सुरू गरिएको पदयात्राले नेपाली सेना र नागरिकको सम्बन्ध प्रगाढ बनाउन पनि सहयोग पुगेको उनले बताए।
उक्त टोलीले दैनिक ४० किलोमिटर पैदलयात्रा गर्दै आएको र जितगढीसम्म आइपुग्दा ३७० किलोमिटर पैदलयात्रा पूरा हुने पृतनापति ढकालले जानकारी दिए।