तीन महिनामा ३ हजार १७६ वटा राजनीतिक समाचार छापिँदा १९२ मात्र महिलासँग सम्बन्धित समाचार प्रकाशित भएको तथ्यांक सार्वजनिक भएको छ।
मिडिया एड्भोकेसी ग्रुपले तीन महिनासम्म ८ वटा पत्रिका संकलन गरी बुधबार तंथ्याक सार्वजनिक गरेको हो।
उक्त कार्यक्रममा बोल्दै ग्रुपकी संस्थापक अध्यक्ष बबिता बस्नेतले सन् २०२३ जनवारीदेखि मार्चसम्म तंथ्याक संकलन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिइन्।
‘महिला राजनीतिकर्मीका मुद्दा र आवाजलाई मिडियाले दिएको स्थान र महत्वका बारेमा बुझ्न अवलोकन गरिएका हौं,ʼ उनले भनिन्।
तीन महिनामा प्रकाशित भएका महिला राजनीतिकर्मीका समाचारमा ५५ प्रतिशत सकारात्मक र ४२ प्रतिशत नकारात्मक र ३ प्रतिशत तटस्थ रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ।
उनले तीन महिनासम्म दैनिक पत्रिका गोरखापत्र, द राइजिङ नेपाल, कान्तिपुर, द काठमाण्डु पोष्ट, नागरिक, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका र द हिमालयन टाइम्समा प्रकाशित समाचारका आधारमा प्रतिवेदन तयार पारिएको बताइन्।
महिलाका विषयमा आउने समाचार, लेख, फिचर, सम्पादकीय चिठी र फोटोका आधारमा मूल्यांकन गरिएको जानकारी दिइन्।