लागुऔषध नियन्त्रण व्यूरोले १ किलो ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेशस्थित अलिगढ २०२००१ ठेगाना भएका ५१ वर्षीय रवीन्द्र कुमार परासर र केन्याली नागरिक ६३ वर्षीय पिलिसिला वान्जा एन्डिरितु छन् ।
व्युरोका प्रवक्ता एसपी चक्रराज जोशीका भारतीय नागरिक रवीन्द्रलाई मंगलबार कोकिनसहित ठमेलको एक होटलबाट पक्राउ गरिएको थियो।
लागु औषधको कारोबार हुन लागेको सूचनाका आधारमा व्युरोबाट खटिएको टोली मंगलबार बिहान ९ बजे ठमेलस्थित रवीन्द्र बसेको होटलमा पुगेको थियो।

खानतलासीको क्रममा कपडाको झोलाभित्र राखिएको लेडिज ब्यागमा फल्स बटम बनाइ लुकाएर राखिएको अवस्थामा १ किलो ८० ग्राम कोकिन बरामद भएको एसपी जोशीले जानकारी दिए।
रवीन्द्रलाई नियन्त्रणमा लिइ सोधपुछपश्चात उक्त कोकिन नेपालसम्म ल्याउने केन्याली नागरिकलाई पक्राउ गर्न प्रहरी सफल भएको हो।
प्रहरीले उनलाई ठमेलकै अर्को होटलबाट पक्राउ गरेको हो। उनको साथबाट एक हजार अमेरिकी डलरसमेत बरामद गरेको छ।
प्रहरीका अनुसार बरामद गरिएको कोकिन AK 0779167 नम्बरको पासपोर्टबाहक ६३ वर्षीय पिलिसिलाले इथियोपियाबाट काठमाडौं ल्याइ रवीन्द्रलाई दिएकी थिइन्।
उक्त कोकिनको अवैध बजार मूल्य करिब दुई करोड ३३ लाख २८ हजार रहेको एसपी जोशीले जानकारी दिए।
पक्राउ परेका दुबैजना विरूद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए।