कपिलवस्तुको विजयनगर गाउँपालिकामा भिषण आगलागी भएको छ।
बिहीबार बिहान भएको आगलागीबाट २६ घरगोठ जलेर नष्ट भएका छन्।
गाउँपालिको वडा नम्बर ५ सिसवामा बिहीबार बिहान ११ बजेदेखि आगलागी सुरू भएको थियो।
३ घन्टासम्म लागेको आगलागीबाट फुसका ९ वटा घर पूरै र १७ ओटा आंशिक गरी २६ वटा घरगोठ जलेको वडा अध्यक्ष अनवर मुसलमानले जानकारी दिए।
दिउँसो २ बजेतिर मात्रै आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, कागजपत्र लगायतको सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए।
दिँसोको समयमा आगलागी भएकोले मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।
स्थानीय कुसुम पासीको घरबाट सुरू भएको आगोले गाउँमा भएका फुसका घरगोठमा सल्किएको स्थानीयले जनाएका छन्।
आगलागीका कारण यति नै क्षति भयो भन्ने अझै यकिन नभए पनि १ करोडभन्दा बढीको क्षति भएको वडा अध्यक्ष मुसलमानले बताए।
सिंगो गाउँका घरगोठ नै आगलागीबाट नष्ट भएपछि लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादव घटनास्थल पुगेका थिए।
उनले आगलागीबाट क्षति भएकाहरूलाई प्रदेश सरकारबाट राहतको व्यवस्थापन गर्ने बताए।