पोखरा–३२ लामेआहालमा ल्याण्डफिल साइटमा थुप्रिएका फोहोर पुर्न मुसाफिर दास तत्मा डोजर चलाउँदै थिए।
सेती नदी किनारमा फालिएका फोहोर पुर्दापुर्दै उनले चलाएको ग १ ग १३४ नम्बरको डोजर अचानक बन्द हुन पुग्यो। डोजर बन्द भएपछि उनी तल भुइँमा ओर्लिए।
डोजर बन्द अवस्थामै थियो। तत्माले भुइँका फोहोर मिलाए। फोहोर पुर्न फेरि डोजरमा चढे। डोजरको चेनमा चढेर उनले स्टार्ट गरे। स्टार्ट गर्नासाथ डोजर हुत्तिँदा चालक तत्मा चेनमा च्यापिएर मृत्यु भएको पोखरा महानगरका सरसफाइ शाखा प्रमुख कल्पना बरालले बताइन्।
‘चल्दाचल्दै बन्द भएको डोजर गेयरमा रहेछ, चेनमा चढेर स्टार्ट गर्ने बित्तिकै आफैं डोजर हुत्तिएर अघि बढेछ,’ उनले भनिन्, ‘डोजर बन्द भएपछि गेयरमै छाड्नु र चालक सिटमा नगइकन स्टार्ट गर्नु गल्ती भएछ।’
आफैं अगाडि बढेको डोजर केही तल खसेर रोकिएको अर्का चालक उमेश लामिछानेलाई उदृत गर्दै बरालले बताइन्।
त्यतिबेला लामिछाने अर्को डोजर चलाइरहेका थिए। चालक नभएको डोजर आफैं अगाडि हुत्तिएर आएपछि उनले आफ्नो डोजर साइड लगाएका थिए।
घटनाका विषयमा छानबिन भइरहेको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले बताए।
‘हाम्रो टोली घटनास्थलमा पुगिसकेको छ,’ उनले भने, ‘अनुसन्धान गर्दैछौं।’