बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन हुने भएको छ।
अधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक गरी पाँच सय जनाको सहभागिता रहने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं महाधिवेशन आयोजक समितिका संयोजक नारायण खनाल लेकालीले जानकारी दिए।
यही वैशाख १६ गतेदेखि बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने महाधिवेशनको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको लेकालीले जानकारी दिए।
महाधिवेशनको बन्द सत्र भने बुटवल १२ नयाँगाउँस्थित मुक्तिनाथ धाममा हुने गरी तयारी गरिएको छ।
महाधिवेशनका लागि १५ वटा विभिन्न उपसमिति गठन गरी तयारीका कामहरू अगाडि बढाइएको संयोजक लेकालीले बताए।
प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापती पराजुलीले नेपालीको संस्कार, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने लोक भजन तथा चुड्काहरूको संरक्षण र प्रवर्द्धनका लागि राज्यले कुनैपनि कार्य गर्न नसकेको बताए। धर्म, संस्कार र परम्परालाई बचाउन र संस्कृति संरक्षणका लागि प्रतिष्ठानले आवाज उठाउँदै आएको पराजुलीले बताए।
दुईदिन सम्मे चल्ने महाधिवेशनमा लोक संस्कृतिको उद्गमस्थल मानिने लुम्बिनी र गण्डकीका विभिन्न स्थानका मौलिक भजन तथा चुड्काहरूको प्रस्तुति समेत रहने छ। सोहि महाधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ।
नेपालको पुरानो र मौलिक संस्कृतिको रुपमा रहेको भजन तथा चुड्काहरूको संरक्षण गर्दै नयां पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले २०६७ सालमा प्रतिष्ठानको स्थापना गरिएको थियो।
विज्ञान जन्माउने वेद हो भने कलाकारिता जन्माउने भजन हो भन्ने मान्यता स्थापित गर्ने उद्देश्य सहित स्थापना गरिएको प्रतिष्ठानले हालसम्म ४८ वटा जिल्लामा शाखा गठन गरिसकेको अध्यक्ष पराजुलीले जानकारी दिए।
प्रतिष्ठानमा हाल ५१६ जना आजिवन सदस्य छन् भने ४ सय साधारण सदस्य रहेका छन्। लोकदोहोरी गितको संरक्षण तथा कलाकारहरुको प्रवद्र्धनको लागि आफ्नै नेतृत्वमा २०५० सालमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको स्थापना गरेका पराजुलीले धार्मिक र सांस्कृतिक गित संगीतको संरक्षणका लागि आफ्नै नेतृत्वमा भजन चुड्का प्रतिष्ठानको स्थापना गरेको बताए।