शनिबार दिउँसो विराटनगरमा भएको प्रहरी र पहिचानवादी आन्दोलनकारीको झडप क्रममा प्रहरी लक्षित गरी पेट्रोल बम प्रहार भएको छ।
मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलका अनुसार कोशी नाम खारेजीविरूद्ध आन्दोलनमा उत्रेका आन्दोलदनकारीले प्रहरी लक्षित गरेर पेट्रोल बम प्रहार गरेका हुन्।
‘आन्दोलनकारीले पेट्रोल बम प्रहार गरेका छन्,’ उनले भने, ‘यसबाट तीन जना प्रहरी घाइते भएका छन्।’
प्रहरीले आज ४४ राउण्ड अश्रुग्यास प्रहार गरेको उनले बताए।
आन्दोलनकारीहरूले भने एक जनालाई गोली लागेको दाबी गरेका छन्। तर प्रहरीले भने गोली नचलाइएको बताएको छ।
कोशी नाम खारेजी माग गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बूको शव यात्राका क्रममा विराटनगरमा झडप भएको हो।
प्रदेशको नाम कोशी खारेज गरेर पहिचानका आधारमा पुनः नामांकन गर्नुपर्ने भन्दै चैत ५ गते मा विराटनगरमा प्रदर्शन भएको थियो। सोही दिन घाइते भएका उनको चैत १० मा मृत्यु भएको थियो।
सरकारले उनलाई शहीद घोषणा गरेपछि बल्ल आज उनको अन्त्येष्टि हुँदैछ।
अन्त्येष्टि अघि उनको शव विराटनगरमा परिक्रमा गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।
लिम्बूको शव केहीबेर प्रदेशसभा अघि राखेपछि अहिले बेलबारी लगिएको छ। उनको आजै अन्त्येष्टि हुने परिवारजनले बताएका छन्।