देशभरका दलित जनप्रतिनिधिहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ।
आइतबार काठमाडौंमा सम्पन्न दलित संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरूको तेस्रो राष्ट्रिय सम्मेलनले जेठ २१ र २२ गते देशभरका दलित जनप्रतिनिधिहरूको प्रथम राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।
सम्मेलनले दलित जनप्रतिनिधिको राष्ट्रिय भेला सम्पन्न गर्नका लागि नीलकण्ठ नगरपालिका, धादिङका उपप्रमुख दीपक विश्वकर्माको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ।
समितिमा देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधि सदस्य छन्।
भेलामा दलित समूदायबाट प्रतिनिधित्व गर्ने जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरूलाई पर्यवेक्षक र कार्यपालिका सदस्य र वडासदस्यहरुलाई प्रतिनिधिका रुपमा बोलाइने आयोजक समितिका संयोजक विश्वकर्माले जानकारी दिए।
जनताको जनजीववनसँग जोडिएको स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई दलित समूदायको सवालमा स्पष्ट पार्न, सशक्तिकरण गर्न, दलित मैत्री नीति कार्यक्रमको सकारात्मक सिकाइ आदानप्रदान गर्न र स्थानीय तहमा भएका स्रोत साधनलाई दलित मैत्री नीति कार्यक्रम र बजेटसँग जोड्ने उद्धेश्यका साथ दलित जनप्रतिनिधिहरूको राष्ट्रिय भेला गर्न लागिएको विश्वकर्माले जानकारी दिए।
भेलामा देशभर तीन नगरप्रमुख, ८ उपप्रमुख, ६ गाउँपालिका अध्यक्ष, ७ उपाध्यक्ष, १२८ वडाध्यक्ष र कार्यपालिका सदस्य गरी करिब १८ सय प्रतिनिधि सहभागी हुनेछन्। भेलामा जनप्रतिनिधिहरूलाई संविधान प्रदत्त दलित अधिकारहरूको विषयमा प्रशिक्षण दिइनेछ।
दलित समुदायको स्थानीय सवाल, समस्या पहिचान र केन्द्रिकृत गर्दै हल गर्न आवश्यक रणनीति योजना बनाउनका साथै विकासमा एकरूपता र छुवाछुतमुक्त घोषणलााई व्यवहारमा नै कार्यान्वयन गराउन भेलाको आवश्यकता र महत्व रहेको विश्वकर्माले बताए।