विराटनगरमा शनिबार भएको झडपमा कम्तीमा १० जना घाइते भएका छन्।
छ जना प्रहरी र चार जना पहिचानवादी आन्दोलनकारी घाइते भएको प्रहरीले जनाएको छ।
तर, कोशी नाम खारेजी माग गर्दै आएको संयुक्त संघर्ष समितिले भने आन्दोलकारी नै छ जना घाइते भएको दाबी गरेको छ।
यसअघि चैत ५ को आन्दोलनको क्रममा घाइते भई निधन भएका पदम लिम्बूको शव प्रदर्शनका क्रममा विराटनगरमा झडप भएको थियो।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार प्रदर्शनकारीले रोडसेस चोक नजिक मुख्यमन्त्री कार्यालय अगाडि निषेधाज्ञा तोडेपछि झडप भएको हो।
झडप सुरू हुनुअगाडि आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार भएको प्रहरीले दावी गरेको छ।
एक जना प्रहरीको टाउकोमा चोट लागेको कारण न्युरो अस्पताल विराटनगरमा उपचारका लागि लगिएको छ।
यस्तै आन्दोलनकारीतर्फ घाइते भएका झापाको शिवसताक्षी नगरपालिका ८ का राजकुमार शेर्माको खुट्टामा चोट लागेको छ। आन्दोलनकारीले उनलाई प्रहरीले रबरको गोली हानेको बताएपनि प्रहरीले भने गोली प्रहार नगरेको जनाएको छ।
एसपी पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा शेर्मालाई बारको ब्लेडले काटेको थियो। यस्तै इटहरी २ का डेनिज राई, विराटनगर ८ का चन्द्रकुमार राई पनि घाइते भएका छन्। उनीहरू तीन जनाको विराटनगरस्थित पारस अस्पतालमा उपचार भइरहेको छ।