मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७९' मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिने भएको छ।
झन्डै सात दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेको महत्वपूर्ण योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले मिठाइदेवीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
२०८० मंसिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा एक लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित विश्वकर्मालाई पुरस्कृत गरिने शान्ति समाजले जनाएको छ।
वि.सं. १९९३ फागुन १० गते इन्द्रचोक काठमाडौंमा जन्मिएकी मिठाइदेवी दलित समुदायबाट स्नातक तह अध्ययन गर्ने पहिलो महिला हुन्।
पशुपतिनाथ मन्दिरमा 'कुकुर र अछुतलाई प्रवेश निषेध' गरिँदै आएकोमा त्यसको विरोध गर्दै २०११ सालमा दलित समुदायको पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलनमा उनी सक्रिय रूपमा सहभागी भएकी थिइन्।
युवा अवस्थामै, २०१२ सालमा उनले नेपाल परिगणित नारी संघको स्थापना गरी सो संस्थामार्फत काठमाडौंको दलित बस्तीमा विद्यालय स्थापना गरिन् र दलित समुदायका बालबालिकालाई शिक्षा प्रदान गर्ने काममा महत्वपूर्ण योगदान दिइन्।
नेवार समुदायको कपाली परिवारमा जन्मेर पढाइका लागि संघर्ष गर्दै दलित समुदायका महिलाको चेतना वृद्धिमा योगदान गरेकी मिठाइदेवीको टि.आर. विश्वकर्मासँग विवाह भएको थियो। बिहेपछि दलित मुक्तिको आन्दोलनमा उनको सक्रियता अझ बढेर गयो।
उनले भारतीय दलित साहित्य अकादेमीद्वारा प्रदान गरिने डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार लगायत १० वटा पुरस्कार तथा सम्मान प्राप्त गरेकी छन्।
मदर्स केयर स्कुलको स्थापना गर्नुका साथै दलित समुदायका विद्यार्थीका लागि समाज विकास छात्रावासको स्थापनामा पनि उनको सक्रिय सहभागिता थियो।
उनले पत्रकारिताको क्षेत्रमा पनि योगदान गरेकी छन् र विभिन्न साप्ताहिक तथा मासिकको सम्पादन गरेकी छन्।
उनको 'नेपाली नारीको अवस्था र अवस्थिति २०६१' नामक पुस्तक प्रकाशित छ भने अन्य थुप्रै लेख रचना प्रकाशित छन्।
मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित मानव अधिकार तथा शान्ति समाज स्वयंसेवी संस्था हो। यसको संस्थापक सभापति कृष्ण पहाडी हुन्।