४० वर्षीया श्रीमती शारदा केसीको हत्या आरोपित श्रीमान ४१ वर्षीय मेघराज केसीलाई प्रहरीले पक्राउपछि आइतबार सार्वजनिक गरेको छ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ रतनपुरस्थित आफ्नो घर नजिकै शारदाको शव वैशाख ६ गते दिउँसो गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो।
पक्राउ परेका मेघराजले वैशाख १ गते राति करिब १० बजेतिर आपसी भनाभनका क्रममा सुरूमा चिर्पट (दाउरा) ले टाउकोमा प्रहार गर्दा शारदा ढलेको र त्यसपछि सलले घाँटी कसेर हत्या गरेको बयान प्रहरी समक्ष दिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले सेतोपाटीलाई बताए।
हत्यापछि राति आफैंले घर नजिकै खाडल खनेर शव गाडेको पनि बताएका छन्।
‘अभियुक्तले आफ्नी श्रीमतीको चरित्रको कुरा उठाएका छन्,’ डिएसपी गौतमले भने, ‘दिनभर श्रीमतीको मोबाइल स्विच अफ भएको र बेलुकी पनि घर अबेर आएको हुँदा सोही कुरामा आफूहरूको राति भनाभन हुँदा आवेगमा आएर चिर्पटले आक्रमण गरेको हुँ भन्ने बयान अभियुक्तले गरेका छन्।’
हत्यापछि मेघराज झोलामा आफ्ना कपडा लगायत बन्दोबस्तीका सामान राखेर राति नै निस्किएको घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए।
‘हत्यापछि केही दिन आसपासको जंगलमा बसेको देखियो,’ ती प्रहरी अधिकारीले भने, ‘दिनभर जंगल पस्ने र आफूले समेत आत्महत्या प्रयास गरेपनि अन्त्यमा भारत छिर्ने उद्देश्यले हिँडेको अवस्थामा उनी पक्राउ परेका हुन्।’
तत्काल उनीसंग भारत पश्न भनेजति पैसाको अभावपनि देखिएको हुँदा जुगाडकै क्रममा अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो।
प्रहरीले प्राविधिक रूपमा अनुसन्धान गरी उनलाई पक्राउ गरेको हो।
‘हत्या गरिएकी शारदाको सिमकार्ड ट्र्याक गरेर र आफन्त, घर परिवारका सम्भावित ठाउँमा खोजेका थियौं,’ ती अधिकारीले भने,‘त्यो सिमकार्ड कसले प्रयोग गरेको हो भन्ने कुरा पत्ता लगाउने क्रममा एरिया पत्ता लगाएर पक्रियौं।’
प्रहरीले हत्या भएको एक हप्तापछि वैशाख ८ गते राति साढे ९ बजेतिर घोराही– ३ भानपुर नजिकै हिडिँरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिएको छ। पक्राउ परेका मेघराजमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतले आइतबार पाँच दिनको म्याद दिएको छ।
सम्बन्धित समाचार: दाङमा खाल्डोमा भेटिएकी शारदाको हत्या आरोपमा श्रीमान पक्राउ
खाल्डोमा भेटिएको शारदाको शव पोस्टमर्टम गर्न लगियो नेपालगञ्ज
घरनजिकै गाडेको अवस्थामा महिलाको शव फेला, श्रीमान फरार