दाङको राप्ती उपत्यकास्थित लुम्बिनी प्रदेशसभा भवन निर्माण गरेको रकम भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायले प्रदेशसभा गेट अगाडि प्रदर्शन गरेका छन्।
सोमबार लुम्बिनी प्रदेश सरकार ढल्ने वा रहने भन्ने टुंगो लगाउन मुख्यमन्त्री लिला गिरीले मागेको विश्वासको मतमाथि प्रदेशसभा भित्र मतदान भइरहँदा प्रदेशसभा भवन बाहिर भने निर्माण व्यवसायीहरूले भुक्तानी माग गर्दै प्रदर्शन गरेका थिए।
प्रदेशसभा भवन निर्माण भई प्रयोगमा आएको ६ महिना बितिसक्दा पनि भवन निर्माण गरेका निर्माण व्यवसायीले भने भुक्तानी पाएका छैनन्। निर्माण व्यवसायीहरूले प्रदेशसभा भवन निर्माण, मन्त्रालय व्यवस्थापन एवं कर्मचारीहरूको निवास लगायत व्यवस्थापन गरे वापतको १२ करोड बढी रकम भुक्तानी पाउन बाँकी रहेको जनाएका छन्।
सोमबार निर्माण व्यवसायीहरू सुरेश घिमिरे, शरद गिरी, मुक्त जिसी, राजेन्द्र श्रेष्ठ, अभिनास भट्टराई, हिमाल अधिकारी लगायतले भुक्तानी पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। उनीहरूले पहिलो दिन सांकेतिक रूपमा प्लेकार्ड सहित प्रदर्शन गरेको र भुक्तानी नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
निर्माण व्यवसायीहरूले भुक्तानी खोई, मजदुरलाई काम कजाई छ नेताहरूलाई रजाई छ, भुक्तानीमा टार्न पाइँदैन निर्माण व्यवसायीलाई मार्न पाइँदैन, नेताहरू आफूलाई मासुभात मजदुरको पेटमा लात जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए।