दाङमा सर्पले टोकेका बिरामीलाई अस्पताल नलगी झारफुक गराउँदा मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ शान्तिटोलका २६ वर्षीय रोशन डाँगीलाई सोमबार राति १० बजेतिर सुतिरहेको समयमा विषालु सर्पले टोकेको थियो।
दाहिने खुट्टामा सर्पले टोकेका डाँगीलाई अस्पताल लैजानुको साटो तुलसीपुर–१४ पहरुवा र खोल्सापुर दाङमा रातभर झारफुक गराउँदा गराउँदै उनी अचेत भएका थिए।
बिहान ३ बजेदेखि बेहोस रहेका डाँगीलाई बिहान ७ बजेमात्रै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले डाँगीलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
गर्मी दिन बढेसँगै दाङलगायत तराईका जिल्लाहरूमा सर्पदंशका घटना बढ्ने हुँदा सबैलाई सजग रहन र अन्धविश्वास तथा भ्रममा नपरी जति हुन्छ छिटो अस्पताल लैजान चिकित्सकले पनि आग्रह गर्दै आएका छन्।