पोखरामा गाडीको ठक्करबाट चितुवाको बच्चा मरेको छ।
महेन्द्रगुफाबाट जोगिमणि जाने बाटोमा सोमबार राती करिब १० बजे गाडीले ठक्कर दिएर साढे २ महिनाको बच्चा मरेको जिल्ला वन कार्यालयले जनाएको छ।
सडकमै चितुवाको बच्चा मरेको देखेपछि स्थानीय रवि बस्नेतले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले मृत अवस्थामा फेला पारेको चितुवाको बच्चा लगेर मंगरबार जिल्ला वन कार्यालयलाई बुझाएको थियो। वन कार्यालयले मुचुल्का उठाएर कार्यालय परिसरमै गाडेको सुचना अधिकारी शालिकराम पराजुलीले बताए।
उक्त बच्चा माउ चितुवाले बच्चाहरूको बथानसँगै लिएर हिँडेको वा बाटो बिराएर माउसँग छुट्टिएको हुन सक्ने पराजुलीले बताए।
आफैं शिकार गर्ने अवस्था नभएको उक्त बच्चा बाटो काट्ने क्रममा गाडीले टाउकोमा ठक्कर दिएको भेटिएको उनले बताए।
‘माउ चितुवाले बच्चाहरूसँगै बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुन सक्छ, नभए माउसँग बाटो बिराएर भौतारिदैं सडकमा आइपुगेको पनि हुन सक्छ,’ उनले भने, ‘गाडीले ठक्कर दिएर मरेको चितुवाको बच्चा हेर्दा माउसँग छुट्टिने बेला भइसकेको देखिँदैन।’