साहित्यकार तथा संस्कृतिविद् धीरेन्द्र प्रेमर्षि र साहित्यकार/सञ्चारकर्मी रूपा झाले आफ्नो बुवा कृष्णलाल झाको स्मृतिमा पुरस्कार दिने भएका छन्। सामुदायिक विद्यालयको शिक्षण तथा शैक्षिक उन्नतिमा उल्लेख्य योगदान पुर्याउने विशिष्ट शिक्षासेवीलाई वर्षेनी पुरस्कृत गर्नेगरी पुरस्कार स्थापना गरेका हुन्।
जेठा छोरा अक्षेन्द्र झाको जन्मदिन वैशाख १२ को उपलक्ष्यमा छोराद्वारा नै राखिने अक्षय कोषबाट प्रदान गर्नेगरी वार्षिक ५१ हजार रूपैयाँको ‘पं. कृष्णलाल झा स्मृति शिक्षा पुरस्कार’ स्थापना गरिएको हो।
कृष्णलाल झा सिरहा जिल्लास्थित बस्तीपुर माध्यमिक विद्यालयका संस्थापक शिक्षकमध्येका एक थिए। उनले उक्त विद्यालयमा लामो समय पढाएका थिए। उनको स्मृति गर्दै सोही विद्यालय परिसरमा पुरस्कार समारोह आयोजना गरिने भएको छ। एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने एकजना छात्र/छात्रालाई ११ हजार रूपैयाँको कृष्णानन्दी प्रोत्साहन पुरस्कार वा सोही विद्यालयमा कक्षा ११–१२ अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ।