पोर्चुगल पठाइदिने भन्दै झन्डै १४ लाख ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी मुद्दामा एक जनालाई पक्राउ गरेको एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
कैलाली टिकापुर नगरपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका टिकाथली बस्ने ४० वर्षीय कृतकबहादुर साउँदलाई पक्राउ गरेको हो। उनलाई बुधबार सिनामंगलबाट पक्राउ गरेको हो।
उनले वैदेशिक रोजगारीको लागि पोर्चुगलमा पठाउने र त्यहाँ मासिक २ लाख बढी तलब हुने भनेर एक पीडितलाई ठगेको आरोप छ।
त्यसरी उनले पीडितबाट पटकपटक गरी १३ लाख ९२ हजार रुपैयाँ लिएका थिए। साथै पीडितलाई अजरबैजानसम्म पुर्याएर अलपत्र पारेर सम्पर्कबिहीन भएका थिए।
वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानको लागि उनलाई विभागमा पठाएको छ।