राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।
वैशाख ५ गतेदेखि किसानसँग सम्बन्धित विभिन्न माग राखेर आमरण अनशन बसेका घिमिरेको जीवनरक्षा गर्न सरकारलाई ध्यानाकर्षण गराएको आयोगमा प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए।
उनका अनुसार नुवाकोट ककनीका घिमिरेले किसानसम्बन्धी विभिन्न माग राखेर काठमाडौंको भूगोल पार्कमा आमरण अनशन बसिरहेका छन्।
'कृषक परिचय पत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्रहरू पूर्णरूपमा अनुदान उपलब्ध गराउनलगायत किसानसँग सम्बन्धित विभिन्न मागहरू राखेका छन्', उनले भने।
बिहीबार अनसनस्थल पुगेर अनशनरत घिमिरेको स्वास्थ्य परीक्षण गर्दा उनको शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल बन्दै गएको आयोगले जनाएको छ।