ललितपुरमा नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
गोदावरी नगरपालिका-१३ झरूवासीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए।
पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ घर भई झरूवासी बस्ने ३६ वर्षीय जीवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका-१ का २१ वर्षीय भुपाल विक छन्।
गत आइतबार जीवनले किराना पसलमा गएका थिए। ५ किलो मैदा र दुई लिटर खाने तेल किनेर उनले एक हजार रुपैयाँको नोट पसले दिनेश तिमल्सिनालाई थमाए। तर तिमल्सिनाले उक्त नोट जाली हो भन्ने थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि खटिएको डिएसपीसहितको टोलीले उनलाई पक्राउ गरेको थियो।
जीवनबाट प्रहरीले एक हजारको, पाँच सय, एक सयको एक-एक वटा जाली नोट बरामद गरेको थियो।
उनीमाथि प्रहरीले मुद्रासम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट ५ दिन म्याद थपेको थियो। उनीमाथि बयान लिएर प्रहरीले अर्का व्यक्तिको पनि संलग्नता रहेको खुलेको हो।
त्यसपछि प्रहरीले बिहीबार गोदावरी-११ बज्रबाराहीबाट भुपाललाई पक्राउ गरेको हो। उनीबाट पनि ५ सयको एउटा, एक सयको एउटा नोट फेला पारेको हो।
उनको डेरामा प्रहरी पुग्दा प्रहरीले प्रिन्टर पनि बरामद गरेको थियो। डेराबाट पनि थप एक हजार, ५ सय र एक सयको फोटो कपि गरिएका कागजहरू पनि फेला पारेको हो।
उनीमाथि पनि प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी साहले बताए। उनीहरूले कहिलेदेखि यो काम गरिरहेका थिए भन्ने खुलिसकेको छैन।