स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक शुक्रबार १० मिनेटको अभियान सञ्चालन गर्न अनुरोध गरेको छ।
शुक्रबार बिहान साढे १० बजे सरकारी तथा सार्वजनिक कार्यालयमा १० मिनेट सरसफाइको अभियान सञ्चालन गर्न अनुरोध गरेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
मन्त्रालयले बिहीबार एक सार्वजनिक सूचना जारी गरी अनुरोध गरेको हो। डेंगी संक्रमण नियन्त्रण तथा रोकथामको लागि यो अभियान चलाइएको मन्त्रालयले जनाएको छ।
‘शुक्रबारदेखि हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट अभियान संचालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयहरूले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाइ अभियान अनिवार्य सञ्चालन गरीदिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ,’ मन्त्रालयको सूचनामा भनिएको छ।
गत वर्ष नेपालमा डेंगी संक्रमण हालसम्मकै अत्याधिक भएको थियो। यस वर्ष पनि डेंगीका बिरामी बढ्न सक्ने भएकाले यो अभियान चलाएको मन्त्रालयले जनाएको छ।
‘हामीले डेंगी संक्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्न र संक्रमित लामखुट्टेको टोकाइबाट बच्न बचाउन आवश्यक हुन्छ। त्यसैले हामी बस्ने र काम गर्ने स्थानमा लामखुट्टेले संक्रमण फैलाउने वातावरण बन्न नदिन हामी सबै संवेदनशिल बन्नु पर्ने हुन्छ। डेंगी गराउने लामखुट्टेले हाम्रो घर र कार्यालय वरिपरि थोरै वा धेरै मात्रामा जमेर रहेको स्थीर संगालो पानीमा अण्डा पारेर वृद्धि विकास गर्छ र संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टेले संक्रमण गराउने हुन्छ,’ मन्त्रालयले भनेको छ।