उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत र कार्यालय सहयोगीलाई घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार मंगलबार शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापा पक्राउ परेका हुन्।
शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेका थिए। घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रवक्ता दाहालका अनुसार शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापालाई सेवाग्राहीबाट १२ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।
घुस लिएको रकमबाहेक स्रोत नखुलेको ३७ हजार ५३५ रूपैयाँ पनि शाखा अधिकृतको कार्यकक्षबाट नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ आयोगले जनाएको छ।