शिक्षक सरूवा गरेपपछि रूष्ट विद्यार्थीले तुलसीपुर नाराबाजी गर्दै उपमहानगरपालिका घेराउ गरेका छन्।
तुलसीपुर १४ स्थित बालमितेरी भोजपुरबाट आएका विद्यार्थीले आइतबार मनपरी शिक्षक सरूवा गरेर पठनपाठन प्रभावित गरेको भन्दै उपमहानगरपालिका घेराउ गरेका हुन्।
उपमहानगरपालिकाले विद्यालयका तीन शिक्षकहरू टंक केसी, जंग केसी र लेखराज रिजालको मनोमानी सरूवा गरेको उनीहरूले बताएका छन्। शिक्षक सरूवाका कारण पढ्न नपाएको र बाध्य भएर प्रदर्शनमा उत्रनु परेको विद्यार्थीको गुनासो छ।
झन्डै १३ किलोमिटर टाढाबाट आएका विद्यार्थीले ‘विद्यालयमा राजनीति बन्द गर, मनपरी शिक्षक सरुवा गर्ने कार्य बन्द गर, सरूवा भएका शिक्षकलाई फिर्ता गर’ लगायतका नारा लगाएका थिए।
उपमहानगरपालिका घेराउ गर्न विद्यार्थी सँगसँगै अभिभावक, शिक्षक र जनप्रतिनिधि पनि आएका थिए।
विद्यालयका प्रधानाध्यापक ओमप्रकाश वलीले भर्ना अभियान चलिरहँदा तीन जना शिक्षक सरूवा भएपछि पठनपाठन प्रभावित भएको बताए ।
‘विद्यार्थी भर्नाको अभियान छ र सुरुवातमै कक्षाहरू खाली भएपछि हामीले गाली खानु परेको छ,’ उनले पीडा पोखे, ‘हामीसँग सल्लाह नै नगरी आफूखुसी उपमहानगरपालिकाले शिक्षक व्यवस्थापनका नाममा सरूवा गर्दा अप्ठेरो त हुने नै भयो।’
तुलसीपुर-१४ का वडाध्यक्ष शंकर खड्काले विद्यालय व्यवस्थापनसँग सरसल्लाह नै नगरी मनलाग्दी तवरले आफूनिकट शिक्षकहरू सरूवा गर्दा त्यसको मार विद्यार्थीले खेप्नु परेको बताए। उनले उपमहानगरका कारण भर्नाको समयमा सामुदायिक विद्यालयमा विद्यार्थी घट्ने परिस्थिति बनेको बताए।
‘भर्नाको समयमा शिक्षक मनपरी ढंगले चलाउने अनि विद्यार्थी बिच्काएर निजीतिर पठाउने षड्यन्त्रका रूपमा बुझेका छौं,’ उनी भन्छन्,‘विद्यालयजस्तो पवित्र संस्थामाथि राजनीतिक हस्तक्षेप तत्काल बन्द नगरे थप आन्दोलन गर्न बाध्य हुनेछौं।’
पछिल्लो समय शिक्षक व्यवस्थापनका नाममा तुलसीपुर र घोराही उपमहानगरपालिकाले मनपरी सरुवा गरेपछि त्यसको विरोध हुँदै आएको छ। घोराहीका शिक्षकले चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन्। तुलसीपुर क्षेत्रमा विद्यालय व्यवस्थापन समितिहरू त्यसविरूद्ध उत्रिएका छन्।