काठमाडौंस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासले आफ्ना नागरिकले पहिलो पटक सगरमाथा चुमेको ६० औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइरहेको छ।
सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सन सोमबार सोलुखुम्बुको खुम्बु क्षेत्रमा पुगेका छन्।
खुम्बुमा उनले हिमाल आरोहणसम्बन्धी विभिन्न क्षेत्रका मानिसहरूसँग कुराकानी गरेका छन्।
स्थानीय शेर्पा समुदाय, पर्यटन व्यवसायी र ट्रेकिङ गाइडसँग राजदूत थम्प्सनले जलवायु परिवर्तनको असर, पर्यटन र व्यापारलगायत विषयमा छलफल गरेका छन्।
सन् १९६३ मे १ मा अमेरिकाका जिम ह्वाइटेकरले सगरमाथा आरोहण गरेका थिए। उनी सगरमाथा चढ्ने पहिलो अमेरिकी आरोही हुन्।
उनले सगरमाथा चढेको ६० औं वर्ष पूरा भएको उपलक्ष्य दूतावासले ह्वाइटेकरको भिडिओ सार्वजनिक गरेको छ।
उक्त भिडिओमा उनले आज राजदूतसँगै आफू पनि खुम्बु क्षेत्रमा पुग्ने चाहना भए पनि नसकिएको बताएका छन्।