मिटरब्याज पीडितले आफ्नो ६ बुँदे माग सम्बोधन नभएसम्म गाउँ नफर्किने बताएका छन्। उनीहरू चैत १९ गतेदेखि रत्नपार्क शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका छन्।
उनीहरूले सोमबार पनि शान्तिवाटिका वरिपरि शान्तिपूर्ण आन्दोलन गरेका छन्।
आफ्नो माग पूरा नभएसम्म पीडित काठमाडौंमा आन्दोलन गरिरहने मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवदेश कुसुवाहाले बताए।
उनीहरूले मिटरब्याजी पीडितका उजुरी खारेज हुनुपर्ने, ऋणभन्दा धेरै तिरेको पैसा फिर्ता पाउनुपर्ने, दृष्टिबन्धक राखेको कागजात फिर्ता पाउनुपर्ने र मिटरब्याजी साहुका कारण आत्महत्या गरेका व्यक्तिहरूको छानबिन गर्नुपर्ने माग राखेका छन्। यी कुरामा सरकारले ध्यान नदिइ तथ्यांक संकलन गर्नमात्र लागेको अध्यक्ष कुसुवाहाले जानकारी दिए।
सरकारसँग पटक-पटक वार्ता भए पनि माग अनुसार कार्यविधि नबनेको अध्यक्ष कुसुवाहाले बताए।
‘मिटरब्याजी पीडितका तथ्यांक संकलन गर्न आयोग गठन गरिएको हो। समस्यासहितको तथ्यांक पहिला नै सार्वजनिक भइसकेको छ,ʼ उनले भने।
पीडितको तथ्यांक संकलन गर्ने काम मात्र भएको भन्दै पीडितका समस्यालाई न्यूनीकरण गर्ने कार्यविधि बन्न नसकेको उनले बताए।
‘अहिलेसम्म दुई/तीन पटक प्रतिवेदन बुझाइएको छ। पीडितलाई झुक्काउने काम मात्र भयो,ʼ उनले भने, ‘अब सरकारले पीडितका समस्या समाधान गर्ने कार्यविधि नबनाएसम्म पीडित पछि हट्दैनन्।ʼ
(मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले जनकपुरधाममा आइतबारदेखि केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ।
कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितहरूको निवेदन आह्वान गरिएको छ।
निवेदन आजदेखि वैशाख ३१ गतेसम्म १५ दिनभित्र दिनुपर्ने आयोगले जनाएको छ।
मिटरब्याज पीडितहरूले आफूसँग उपलब्ध रहेका प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्नेछन्। प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ। सोही कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध हुनेछ। निवेदन फारम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भरिदिने प्रबन्ध गरिएको छ।