सोमबार वर्षाका कारण हुन नसकेको एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईविरूद्धको फाइनल खेल आज पनि वर्षाले प्रभावित हुने देखिएको छ।
आजको खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ। सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो।
आज ९ बजे यहि स्थितिबाट खेल सुरू हुन लागेको छ।
मौसमविद्हरूले मध्यान्ह १२ बजेतिर पानी पर्न सक्ने बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरूण पौडेलले काठमाडौं उपत्यकामा १२ बजेपछि छिटपुट पानी पर्ने बताए।
‘काठमाडौं उपत्यकामा आज दिनभरि नै मौसम बदली रहने छ। मध्यान्हपछि छिटपुट वर्षाको सम्भावना छ। दिउँसो दुई/तीन बजेतिर हल्का वर्षाको सम्भावना छ,’ पौडेलले भने।
उनका अनुसार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, दिपायललगात थोरै स्थान र अन्य पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ। यो क्रम दुई–तीन दिन अझै चल्नेछ।
‘तीन–चार दिनअघिसम्म अत्यधिक गर्मी बढेको थियो। त्यो रोकिएर चिसो महसुस भएको। पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै केही दिन रहनेछ,’ उनले सेतोपाटीसँग भने,‘ठूलो पानी परेर भेलबाढी आउने खतरा त छैन तर देशका विभिन्न भागमा हल्का वर्षा भने भइरहने छ।
मंगलबार दिउँसो कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर–पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। त्यस्तै ती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।