तनहुँको दमौलीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।
सो शिविरबाट ७ हजार ६ सय ४२ जनाले लाभ लिएको आयोजक संस्था सेभ द हार्टका महासचिव शेरबहादुर रानाले जानकारी दिए।
मुटु जोगाऊँ, काठमाडौं र व्यास नगरपालिकाको संयुक्त आयोजनामा दमौलीस्थित् बालमन्दिर माध्यमिक विद्यालयमा सम्पन्न शिविरबाट निःशुल्क मुटु परीक्षणका साथै आवश्यकताअनुसार औषधीसमेत वितरण गरिएको हो।
विशेषत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट व्यास नगरपालिका क्षेत्रका विद्यार्थीसँगै अभिभावक पनि लाभान्वित भएका छन्।
स्वदेशी तथा विदेशी विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिएको शिविरमा ८ सय ९६ जनाको निःशुल्क इसिजी गरिएको थियो।
यस्तै, ६ सय ६१ जनाले निःशुल्क रूपमा इको कार्डियोग्राफी सेवा लिएका छन्।
शिविरमा ७ सय ९८ जनाको सुगर पनि परीक्षण गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईले जानकारी दिए।
परीक्षणको क्रममा उक्त क्षेत्रमा धेरै त बाथ मुटु रोग भेटिएको डा. भट्टराईले जानकारी दिए।
जन्मजात मुटु रोगीको संख्या र मुटुको नली ब्लक भएर हृदयघात हुने खतरा पनि अधिक मात्रामा देखिएकाले सचेत रहनुपर्ने डा. भट्टराईको भनाइ छ।
शिविरबाट ३६ जना शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका छन्।
उनीहरूको तत्कालै शल्यक्रिया गर्नुपर्ने भएकाले स्थानीय सरकारसँग समन्वय गरी सेभ द हार्टले काठमाडौंमा निःशुल्क शल्यक्रियाको सेवा प्रदान गर्ने व्यवस्था मिलाइने सेभ द हार्टका महासचिव रानाले जानकारी दिए।
उक्त शिविरबाट नागरिकले करिब ६८ लाख बराबरको सुविधा निःशुल्क पाएको पनि आयोजक संस्थाको दाबी छ।
सो अवसरमा ११ लाख बराबरको औषधी वितरण समेत गरिएको छ।
समापन कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई लक्षित गरी शिविरहरू सञ्चालन गर्दै आएको बताए।
सोही अवसरमा उनले सेभ द हार्टसँगको सहकार्य वार्षिक रूपमै गरी नगरक्षेत्रका विभिन्न ठाउँका नागरिकलाई निःशुल्क मुटु परीक्षणको अवसर प्रदान गर्ने योजना बनाएको बताए।
व्यासमा सामान्य स्वास्थ्य केन्द्रबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भइरहेकाले यस्ता विशेषज्ञसहितका सेवा निरन्तर सञ्चालन गर्ने उनको प्रतिबद्धता छ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा काठमाडौं, पोखरा लगायतका ठाउँबाट र इटलीबाट आएका चिकित्सक तथा स्वास्थ्यकर्मीले शिविरमा सेवा प्रदान गरेका थिए।
सेभ द हार्टले मिसन बाम्बिनी इटलीसँग सहकार्य गरी देशभर शिविर सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष समेत रहेका भट्टराईले बताए।
उनका अनुसार हालसम्म एक सय १४ स्थानमा मुटु परीक्षणसम्बन्धी निःशुल्क शिविर सम्पन्न भइसकेको छ।
जसबाट एक लाख २० हजार भन्दा बढी नागरिक लाभान्वित भएका छन्।
हालसम्म एक हजार भन्दा बढी जटिल समस्या भएका मुटुरोगीको संस्थामार्फत् ओपनहार्ट सर्जरी सम्पन्न भइसकेको छ भने बाँकी बिरामी निरन्तर सम्पर्कमा रहेर मुटु जाँच गराइरहेका छन्।
शिविरलाई मगर समाज सुधार समिति, दमौली, रोटरी क्लब अफ दमौली, रोट्र्याक्ट क्लब अफ दमौलीको सहकार्य तथा नेपाल कार्डियो डायबिटिज एण्ड थाइराइड सेन्टरको प्रविधिक सहयोग रहेको थियो।