राप्ती राजमार्गअन्तर्गत सल्यानको बाङ्गेलाखुरीदेखि पेदीखोला सडक खण्ड दैनिक दस घन्टा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय सल्यानले आजदेखि देखि वैशाख २७ गतेसम्म उक्त सडक खण्ड दैनिक दस घन्टा बन्द गरिएको जानकारी दिएको छ।
सल्यानका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले हरेकदिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ८ बजेदेखि बिहान २ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरि मर्मतको काम गर्नु पर्ने भएको हुँदा सडक खण्ड बन्द गर्नुपरेको बताएका छन्।
वैशाख १२ गते सडक डिभिजन कार्यालय दाङले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरि राप्ती राजमार्ग अन्तर्गत सल्यानको शीतलपाटी–चौखावाङ सडक खण्ड अन्तरगत बाङ्गेलाखुरी– पेदीखोला सडकखण्ड स्तरोन्नती गर्न आवश्यक रहेकाले सडक बन्द गर्नुपर्ने जानकारी गराएको थियो।
त्यसकै आधारमा सडक खण्ड स्तरोन्नती गर्नका लागि दैनिक दस घन्टा सडक बन्द गर्नुपरेको प्रजिअ खरेलले जानकारी दिए।
प्रजिअ खरेलले अत्यावश्यक र हलुका सवारी साधनलाई बैकल्पिक मार्ग पेदीखोलादेखि खरिबोट प्रयोग गर्नपनि आग्रह गरेका छन्।