दार्चुलामा हिमपहिरोमा पुरिएका तीन जनाको शव फेला परेको छ।
व्यास गाउँपालिका-१मा मंगलबार दिउँसो गएको हिमपहिरोमा पुरिएका मध्ये तीन जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बुधबार दिउँसो एक पुरूष र दुई महिलाको शव फेला परेको हो।
शव निकाल्ने प्रयास भइरहेको छ।
मृतक पुरूष दुहु गाउँपालिका पोक्सेका १८ वर्षीय प्रविण कुँवर छन्। अन्य दुई महिलाको सनाखत नसकेको डिएसपी थापाले बताए।
त्यहाँ अझै दुई जना महिला बेपत्ता छन्। उनीहरूको पनि खोजी भइरहेको छ।
सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म छाङरू दार्चुलाबाट डिएसपी इश्वरीदत्त भट्टको कमान्डमा २१ जनाको टोली खटिएको हो।
मंगलबार नै प्रहरीले सात जना बेपत्ताको उद्धार गरेको थियो। हिमपात र पानीका कारण उद्धार गर्न नसकेपछि सशस्त्र प्रहरी फर्किएको थियो। आज बिहान देखि पुन: खोजी गर्न थालेको हो।
उनीहरू यार्सागुम्बा खोज्न हिँडेका थिए। हिमपात भएपछि त्रिपालमा बसिरहँदा हिमपहिरो आएर पुरिएको थियो।