सुदूरपश्चिममा यार्सागुम्वा संकलनका लागि गएका पाँच जनाको मृत्यु भएको छ।
हिमपहिरोमा परेर र चिसोले कठ्यांङ्ग्रिएर हिमाली क्षेत्रमा यार्सागुम्वा संकलनका लागी गएका दार्चुला ३ र बझाङका २ गरी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै बझाङमा एक र दार्चुलामा २ गरी तीन जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ताहरुको खोजी कार्या जारी रहेको प्रहरीले जनाएको छ।
मंगलवार दिउँसो दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परेर दार्चुलाको दुहु गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर बेपत्ता भएका थिए।
यस्तै डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा हिमपहिरोमा बेपत्ता भएको प्रहरीले जनाएको छ।
बेपत्ता भएका पाँच जना मध्ये बुधवार दिउँसो हिमपहिरोमा पुरिएर तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो एक पुरूष र दुई महिलाको शव फेला परेको हो।
मृतक पुरूष दुहु गाउँपालिका पोक्सेका १८ वर्षीय प्रविण कुँवर हुन्। अन्य दुई महिलाको सनाखत हुनसकेको प्रहरीले जनाएको छे त्यहाँ अझै दुई जना महिला बेपत्ता छन्।
प्रहरीका अनुसार उनीहरुको खोजी कार्य जारी छ। यस्तै बझाङमा पनि यार्सागुम्बा संकलनको क्रममा २ जनाको मृत्यु भएको छ, भने एक जना बेपत्ता छन्।
मंगलवार सुर्मा गाउँपालिका – ४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मुत्यु भएको प्रहरीले जनाएको छ। उनको यार्सागुम्बा संकलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्यांग्रीएर बाटोमै मृत्यु भएको हो।
यसअघि सोमबार पनि सुर्मा गाउँपालिकाकै –५ सैन गाउँका ३३ वर्षिय कलक बोहराको पनि चिसोले कठ्याग्रीएर मुत्यु भएको थियो।
मंगलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवि बोहरा हिमअपहिरोमा परेर वेपत्ता भएकी छन्।
उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। हिमपातले यार्सागुम्बा समस्या भएपछि यार्सागुम्बा संकलन गर्न गएका स्थानीयहरु घर फर्किन लागेका छन्।
यार्सागुम्बा संकलन गर्ने ठाउँ हिमाली भेगतिर भने अत्यधिक हिमपात भइरहेको छ।
हिमपातले यार्सागुम्बा संकलन गर्न समस्या हुने गरेको र त्यो ठाउँमा चिसोले बस्न नसकिएकाले घर फर्किएको बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका प्रकाश धामीले बताए।