काठमाडौंमा चट्याङ लागेर एक जना पुरूषको मृत्यु भएको छ।
बुधबार दिउँसो १ बजे चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
मृतक मकवानपुरको भिमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङ हुन्।
उनी मिस्त्रीको काम गर्थे। निर्माणाधीन घरमा काम गरिरहेको बेलामा कौसीमा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
चट्याङ लागेपछि उनलाई वीर अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो।
शवको पोष्टमर्टमको लागि शव टिचिङ अस्पताल महाराजगञ्ज लग्ने तयारी छ।