कैलालीमा वन अतिक्रण हटाउने काम जारी छ। वन डिभिजन कार्यालय कैलाली वनमा क्षेत्रमा भएको अतिक्रमण हटाउन सक्रिय रूपमा लागेको हो।
आइतबार गोदावरी नगरपालिकाको–३ मा पूर्व-पश्चिम राजमार्ग किनारमा वन अतिक्रमण गरेर बनाइएका टहरामा प्रहरीको सहयोगमा डिभिजन वन कार्यालयले डोजर लगाएको थियो। त्यहाँ भूमिहीनको बहानामा टहरा निर्माण गरिएका थिए।
सरकारबाट जग्गा पाउने आशमा ९ जिल्लाका डेढ हजार बढी मान्छे त्यहाँ आएका थिए। उनीहरूले राजमार्ग किनारमा टहरा बनाएर बसेका थिए।
पुस्तौंदेखि भूमिहीन रहेको भन्दै सरकारले जग्गा दिनुपर्ने उनीहरूको माग छ।
आइतबार वन डिभिजनले उक्त क्षेत्रका टहरा सबै भत्काएर खाली गरेको डिभिजन वन कार्यालय कैलालीका वन अधिकृत डबल बोहराले जानकारी दिए।
उनका अनसार तत्काल तीन/चार वटा क्षेत्रको वन अतिक्रमण हटाउने डिभिजन वन कार्यालयको लक्ष्य छ।
‘अतिक्रमण हटाएको ठाउँमा तारबार सहितको वृक्षरोपण गरिने छ,’ उनले भने।
उनका अनुसार २२ हजार हेक्टरभन्दा बढी कैलालीमा वन अतिक्रमण भएको छ। वन अतिक्रमण हटाउन चुनौती रहेको वन अधिकृत बोहराको भनाइ छ।
‘वन अतिक्रमण गरेर बसेका मान्छेहरूले अनेक बहाना गर्नुहुन्छ, हामी सुकुम्बासी, भूमिहीन, गरिब हौं भन्छन्, उनीहरूका अगुवाहरूले पनि विभिन्न किसिमका अपवाह फैलाउने गर्छन्, कतिपय साँच्चिकै गरिब पनि होलान् तर उनीहरूको व्यवस्थापन गर्ने काम हाम्रो अधिकारी क्षेत्रमा छैन, हामीले अधिकारमा जे हुन्छ त्यही काम गर्ने हो,’ उनले भने।
उनका अनुसार पछिल्लो समय कैलालीमा वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ।
वन अतिक्रमण गरेर बसेकाहरूलाई जनप्रतिनिधिहरूले नै संरक्षण गर्ने गरेका कारण अतिक्रमण रोक्न प्रमुख चुनौती छ।
‘वन अतिक्रमण गरेका बस्तीमा जनप्रतिनिधिहरूले धारा, विद्युत जडान गर्ने, त्रिपाल दिने लगायका प्रोत्साहन गर्ने काम गर्दा झन् अतिक्रमण रोक्न सकिएको छैन,’ उनले भने।
बुधबार डिभिजन वन कार्यालयले एक सूचना जारी गर्दै चुरे गाउँपालिकाको टाका गडामा बाढी पहिरोबाट विस्थापित भएको बताउनेहरूलाई निर्माण गरेका टहरा हटाउन भनेको छ।
सो क्षेत्रमा वनभित्र आश्रय लिएर बसेकाहरूलाई एक हप्ताभित्र बस्ती खाली गर्न सूचना जारी भएको वन अधिकृत बोहराले बताए।
उनका अनुसार एक हप्ताभित्र बस्ती खाली नगरे डोजर लगाइने छ।
त्यहाँ टहरा हटाउन डिभिजन वन कार्यालय सूचना जारी गरेपछि बाढी पहिरो विस्थापित भएको बताउने स्थानीयहरू भने आक्रोशित छन्।