सञ्चार क्षेत्रमा चुनौती बढिरहेको सरोकारवालाहरूले बताएका छन्।
सामुदायिक रेडियो प्रसारक संघ अकोराबले ललितपुरमा गरेको कार्यक्रममा बोलेका सरोकारवालाहरूले चुनौती छिचोलेर अघि बढ्न सञ्चार क्षेत्र सक्नुपर्नेमा जोड दिए।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरूङले पुराना कानून र सामाजिक सञ्जालको बढ्दो प्रयोगलगायतले चुनौती थपेको बताए। ‘नयाँ चुनौतीलाई पन्छाउँदै अघि बढ्नुपर्छ,’ उनले भने।
राष्ट्रिय मानव अधिकार आयोगका कार्यबहाक सचिव मुरारी खरेलले पछिल्लो समय सञ्चार माध्यम र पत्रकारले भोग्नुपरेका समस्या समाधानका लागि सबैको सहयोग आवश्यक रहेको बताए।
अधिकारकर्मी चरण प्रसाईले सञ्चार माध्यमले पनि मानव अधिकारका विषयमा कम ध्यान दिएको बताए। दीगो रूपान्तरण र लोकतन्त्र कार्यान्वयनका लागि मानव अधिकारका विषय पनि सञ्चार माध्यमको मुख्य मुद्दा बन्नुपर्ने उनको भनाइ छ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सञ्चार माध्यमले पर्दा पछाडिका घटनालाई पनि उजागर गर्ने मुल दायित्व भुल्न नहुने बताए।
अकोराबका अध्यक्ष अर्जुन गिरीले तीनै तहका सरकारले सामुदायिक रेडियोलाई वेवास्ता गरेको बताए। समुदायकाे सञ्चार र देशका ठूला परिवर्तनमा सामुदायिक रेडियोले पुर्याएको भूमिका नभुल्न उनले आग्रह गरेका छन्।