बैतडीको दशरथचन्द नगरपालिकाले नेपाल–भारत सीमा नाका झुलाघाटसहित विभिन्न बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गर्न थालेको छ।
नगर प्रमुख पुष्करराजा जोशीका अनुसार सिसिटिभी क्यामरा अतिआवश्यक भएपछि जडान गर्ने काम सुरू गरेको हो।
उनका अनुसार झुलाघाट नाकासँगै गढी, गोठलापानी, साहिलेक र देहीमाण्डौं बजारमा सिसी क्यामरा जडान गर्ने काम सुरू भएको हो।
‘पहिलो चरणमा नगरपालिकाले २५ वटा क्यामरा जडान गरेको गर्ने भन्ने भएको छ, सोही अनुसार हामी अहिले क्यामरा जडान गर्ने काममा लागिरहेका छौं,’ उनले भने।
उनका अनुसार आगामी प्रत्येक वर्षमा पनि आवश्यकता अनुसार क्यामरा जडान हुनेछन्। सबै जडानको काम सम्पन्नपछि क्यामराको लागत निकालिने मेयर जोशीले बताए।
‘यसअघि जिल्लामा सिसिटिभी क्यामरा थिएनन्, हामीले नयाँ अभ्यास गर्दैछौं, ८ वटा जति जडान भइसकेका छन्, जडानको काम जारी छ, सिसिटिभी क्यामराको मुख्य कन्ट्रोल रूम जिल्ला प्रहरी कार्यालयमा राखिने छ र सहायक नगरपालिकामा राखिने छ,’ जोशीले भने।
सदरमुकाममा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामरा जडान गरिएको नगरप्रमुख जोशी बताउँछन्।
क्यामरा जडानपछि आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।