दार्चुलामा हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी गर्ने काम स्थगित भएको छ।
व्यास गाउँपालिका-१ मा मंगलबार गएको हिमपहिरोमा पुरिएका तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना अझै बेपत्ता छन्।
खराब मौसमका कारण आजका लागि खोजी गर्ने काम स्थगित भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
यसअघि एक पुरूष र दुई महिलाको शव फेला परेको थियो।
दुहु गाउँपालिका पोक्सेका १८ वर्षीय प्रबिण कुँवरको शव फेला परेको थियो। अन्य दुई जना महिलाको पनि सनाखत भएको छ।
दुहु गाउँपालिका-४ की ३६ वर्षीया कमला कुँवर र डोटी जोरायल गाउँपालिका-२ बुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा छन्।
उनीहरूको शव त्रिपाल टाँगेर बसेको स्थानभन्दा अढाइ किलोमिटर तल फेला परेको थियो। उनीहरू यार्सागुम्बा खोज्न हिँडेका थिए।
उद्धार तथा खोजी गर्न सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म दार्चुलाबाट डिएसपी इश्वरी दत्त भट्टको कमान्डमा टोली खटिएको छ।
मंगलबार पनि प्रहरीले हिउँमा परिएका ७ जनाको सकुशल उद्धार गरेको थियो।