दाङको तुलसीपुरस्थित पातुखोलामा रहेको नयाँ बसपार्कमा पार्किङ गरी राखिएका बसहरूबाट डिजेल चोरी आरोपमा पक्राउ परेका कारधनीसहित तीन जनालाई बुधबार जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको छ।
कारधनीसहित तीनै जनालाई जनही २० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएपछि तोकेका धरौटी बुझाएर उनीहरू छुटेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
गत चैत २२ गते बिहान २ बजे बसपार्कमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका १८ वर्षीय नवीन केसी र सोही ठाउँका १८ वर्षकै विशाल रावतलाई तेल चोरी गर्दागर्दै ड्युटीमा रहेको प्रहरीले नियन्त्रणमा लिएको थियो।
ना ४ च ५७८७ नम्बरको कारमा आएका उनीहरू तुलसीपुरको बसपार्कमा पार्किङ गरिराखेको ना ४ ख ६४९५ नम्बरको बसबाट डिजेल चोरी गरिरहेको समयमा पक्राउ परेका थिए।
उनीहरु आफैंले कारमा दुइटा जर्किन ल्याएका थिए। तीमध्ये एउटा २० लिटरको जर्किन भरी तेल निकालेर अर्को जर्किनमा भर्ने तयारी गर्दागर्दै प्रहरीले नवीन र विशाललाई पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा उक्त कार तुलसीपुर– ८ का दिलीप बिकको रहेको खुलेको थियो। दिलीप कालिका मालिका अटो प्रालिका अध्यक्ष हुन्।
नवीन र विशालको बयानका आधारमा करिब दुई हप्ताअघि कारधनी दिलीपलाई पनि पक्राउ गरिएको थियो।
सम्बन्धित समाचार- कार चढेर आएकाले चोरे पार्किङमा राखेको गाडीबाट डिजेल