मुलुकभरको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण माथिल्लो भेगमा बेमौसमी हिमपात भइरहेको छ।
त्यस्तै गण्डकी, लुम्बिनी, मधेस र कोशी प्रदेशका केही भूभागमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
यो क्रम आज दिनभरि नै चल्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन्।
‘पश्चिमी वायुको प्रभाव भोलिसम्म रहने छ। आज दिनभर लुम्बिनी, गण्डकी, वाग्मती, मधेस, कोशीलगायतका प्रदेशमा यसको प्रभाव देखिने छ। ठाउँठाउँमा हल्का तथा मध्यम वर्षा हुने छ,’ उनले भने।
पश्चिमी वायुले चिसो बोकेर ल्याएका कारण गर्मीयाममा पनि जाडोको अनुभव भइरहेको छ। त्यस्तै हिमाली भेगमा हिमपात भइरहेको छ।
‘यसलाई हामीले सामान्य बदलीकै रूपमा लिनुपर्छ,’ उनले सेतोपाटीसँग भने, ‘पश्चिमी वायुको प्रभाव देखिएको बेला मौसममा यस्तो बदलाव आउँछ। तल्लो भेगमा पानी परेर चिसो भएकाबेला माथिल्लो भेगमा हिमपात हुन्छ।’
नेपालमा सामान्यतयाः जुन १० को वरिपरिबाट मनसुन सुरु हुन्छ। अहिले भइरहेको वर्षा प्रि–मनसुन भएको पनि उनले जानकारी दिए।
‘केही दिनअघि एकदमै गर्मी बढेको थियो। पानी परेसँगै मौसम चिसो भएको छ, यो प्रिमनसुनको असर हो,’ उनले भने, ‘शुक्रबारबाट मौसममा सुधार आउँछ।’