दूरसञ्चार सेवा प्रदायकले जडान गरेका केवल नेटवर्कका तार व्यवस्थापन नगरे तार काटिदिने काठमाडौं महानगरपालिकाले चेतावनी दिएको छ।
महानगरले सूचना जारी गर्दै वैशाख २७ सम्म तार व्यवस्थापन गर्न भनेको छ। सूचनामा दिइएको म्याद सकिएका दिनसम्म व्यवस्थापन नगरे आफूहरूले तार काट्ने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
‘सूचनाको मिति सकिएपछि पनि व्यवस्थापन भएन भने हामी तार काट्छौं,’ उनले भने, ‘सधैं काम गर्न खोज्दा काम गर्न नदिएर हुन्छ? सबैको आज्ञा मानिराख्न जरूरी हुँदैन, हामी तार काट्छौं।’
गुजुल्टो परेका तारमा आगलागी हुने खतरा रहेकाले जनताको जिउधन असुरक्षित भएको उनले बताए।
सम्बन्धित निकायसँग धेरै पटक समन्वय गर्न खोज्दा पनि अटेर गरिएको मानन्धर बताउँछन्। तारकै कारण हुने गरेका दुर्घटना महानगरले हेरिबस्न नसक्ने हुँदा ३२ वटै वडाका तार वडा तहबाटै भए पनि काट्ने उनले बताए।
महानगरको सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेश काफ्ले तार व्यवस्थापन गर्ने विषयमा पहिलेदेखि नै कुराकानी भएको बताउँछन्।
'पहिले हामीले विद्युत प्राधिकरणसँग तार व्यवस्थापनको विषयमा कुराकानी गरेका थियौं,' उनले भने, 'तर त्यतिबेला सरकारी निकायसँग मात्र छलफल गर्यौं। निजी क्षेत्रसँग गरेका थिएनौं।'
काफ्लेका अनुसार सबै पोलका तारहरू प्राधिकरणले व्यवस्थापन गर्ने हुँदा सोहीअनुसार छलफल गरिएको थियो। निजी निकायसँग त्यसबेला छलफल नभएको हुँदा अब निजी क्षेत्रसँग छलफल गरी व्यवस्थापन गर्ने उनले बताए।
'केवल नेटवर्क सबैलाई चाहिन्छ,' उनले भने, 'सबै सेवाप्रदायकलाई प्राधिकरणसँग समन्वय गरी तार अन्डरग्राउन्ड गर्न अनुरोध गर्नेछौं।'
निजी क्षेत्रसँग यस विषयमा छिट्टै बैठक बस्ने र तार व्यवस्थापन गरी सौन्दर्यकरणको काम गरिने उनले बताए।
शुक्रबार काठमाडौंका मेयर बालेन शाहले सहरी व्यवस्थापनसँग सम्बन्धित यस अघिका समस्यालाई यथावत राखी व्यवस्थित र सुन्दर महानगर प्राप्त नहुने भएको बताएका थिए।
बालेनले आफ्नो क्षेत्राधिकारभित्रको काम गर्ने बताएका थिए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई वैशाख १७ गते अन्धाधुन्ध तार नकाट्न आग्रह गर्दै पत्राचार गरेको थियो।
मन्त्रालयका स्थानीय समन्वय शाखाका प्रमुख चिरञ्जिवी नेपालका अनुसार स्थानीय तहले शहरी सौन्दर्यको नाममा इन्टरनेट तथा टेलिफोनको तार अन्धाधुन्ध काटेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले वैशाख १२ गते यस्तो कार्य बन्द गर्न सहयोग मागेको थियो।
महानगरले वैशाख १२ गते केवल नेटवर्कहरूलाई अनावश्यक तार हटाउन र चाहिने तार राम्ररी रेखाङ्कन गरी राख्न अनुरोध गरेको थियो। तोकिएको समयमा व्यवस्थापन नभए तार काटिदिने र सेवाग्राहीलाई पर्न गएको असुविधाको जवाफदेही सम्बन्धित निकाय नै हुने महानगरले जनाएको थियो।