शुक्रबार दिउँसो म संखुवासभाको भोटखोला-४ सिप्रुङमा थिएँ। अन्दाजी सवा १ बजेतिर डोरीमा सामान बाँधेर एउटा हेलिकप्टर उडेर आइरहेको थियो।
हामीले हेर्दाहेर्दै हेलिकप्टर अनियन्त्रित भएर आकाशबाट भुइँमा बजारियो।
हेलिकप्टर दुर्घटना हुँदा म नजिकैँ थिएँ। हेलिकप्टरमा तीन जना सवार हुनुहुन्थ्यो।
हेलिकप्टरका चालक र सहचालक घाइते हुनुहुन्छ। हेलिकप्टरमा सवार एकजना स्थानीय अनियन्त्रित हेलिकप्टरबाट हाम फाल्दा घाइते हुनुभयो।
घाइतेमध्ये पाइलटको अवस्था गम्भीर छ। सहचालकको अवस्था पनि गम्भीर नै छ।
हेलिकप्टरले माथिल्लो अरूण जलविद्युत् परियोजनाको सामान बोकेर ल्याइरहेको थियो। तलबाट हेर्दा परियोजनाको सामान लिफ्टिङ गर्ने क्रममा दुर्घटना भएको देखिन्छ। रूख या कुनै वस्तुमा ठोक्किएर अनियन्त्रित भएको हुन सक्छ, दुर्घटनाको कारण खुलेको छैन।
घटनास्थलमा अहिले नेपाली सेनासहित सुरक्षाकर्मी र स्थानीय भेला भएका छन्। उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।
(कुराकानीमा आधारित।)