भक्तपुरमा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
शनिबार राति साढे २ बजेतिर शंका लागेर प्रहरीले सर्लाही कर्मैया गाउँपालिका-९ घर भई काठमाडौंको गुहेश्वरी बस्ने १८ वर्षीय अर्जुन बराइलीलाई सोधपुछ गरेको थियो।
उक्त टोलीले उनीबाट चोरीका सामान बरामद गरेपछि पक्राउ गरेको हो। उनले कौशलटारस्थित एक घरमा चोरी गरेको आरोप छ।
उनीबाट ल्यापटप, ट्याब, दुई वटा मोबाइल, एउटा पावर बैंक र एउटा रड बरामद गरेको छ।
थप अनुसन्धानको लागि उनलाई प्रहरी वृत्त ठिमीमा राखिएको छ।