पोखरीमा डुबेर धनुषामा जुम्ल्याहा बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहम्मद अब्दुल अन्सारी र मोहम्मद अल्कामा अन्सारी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकृत प्रहरी निरीक्षक (इन्सपेक्टर) विक्रम शाहका अनुसार सोही वडाको बसहियास्थित गोगलप्रसाद नमूना मावि स्कुलको अगाडि रहेको पोखरीमा नुहाउने क्रममा शनिबार साँझ उनीहरूको मृत्यु भएको हो।
बालकहरू पोखरीमा डुबेको भन्ने खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले दुबैलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो।
चिकित्सकले बेलुका करिब ८ बजे दुबै बालकलाई मृत घोषणा गरेको इन्सपेक्टर शाहले जानकारी दिए।
अहिले उनीहरूको शव सोही अस्पतालमा पोष्टमर्टमका लागि राखिएको उनले जानकारी दिए।
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको इन्सपेक्टर शाहले बताए।