असरल्ल तार व्यवस्थापन गर्न दूरसञ्चार प्राधिकरणले १३ वटा रूट तय गरेको छ।
टेलिफोन तथा इन्टरनेटलगायतका तारहरू सडक छेउको पोलहरूमा गुजुल्टो परेको, चुँडिएको अवस्थामा रहेको र त्यसले सहरी सौन्दर्यता बिगारेको तथा दुर्घटनाको जोखिम बढाएकाले प्राधिकरणले व्यवस्थापन गर्न लागेको हो।
प्राधिकरणले माइतीघरदेखि विमानस्थलसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म, न्युरोड गेटदेखि वसन्तपुर हुँदै असनसम्म रूट तय गरिएको छ।
त्यस्तै माइतीघर, पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली, नारायणहिटी, कमलादी हुँदै रानीपोखरीसम्मको तार व्यवस्थापन गरिने भएको छ।
डिल्लीबजार, अनामनगर हुँदै संघीय संसद् भवन वरपर, नक्साल, बालुवाटार हुँदै शीतल निवाससम्मको पनि तार व्यवस्थापन गरिने छ।
माइतीघर, त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर, अमृत साइन्स क्याम्पस, रानीबारी हुँदै सामाखुसीसम्म अर्को रुट तय गरिएको छ।
सोह्रखुट्टे, ढल्को, ताहाचल हुँदै स्वयम्भू, सिनामंगल, पुरानो बानेश्वर हुँदै गौशाला, गौशाला, बौद्धनाथ, कालीमाटी, कुलेश्वर हुँदै बल्खुसम्मको तार व्यवस्थापन गरिने दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ।