गत वैशाख १७ गते अपराह्न ३ बजे बैतडी पाटन नगरपालिका-६ मा एक व्यक्तिको टाउको प्रहरीले भेटाएको थियो। घटना भएको ८ दिन बितिसक्दासम्म समेत प्रहरीले शरीरका अन्य भाग भने भेटाउन सकेको छैन। बाँकी भागको खोजी भइरहेको प्रहरीले बताएको छ।
पाटन बजारको श्री कृष्ण माध्यमिक विद्यालय हुँदै पारी पाटन जाने सडकको बायाँतर्फ भेटिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए।
‘स्थानीयले सडकमा हिँड्दै गर्दा देखेपछि प्रहरी पुगेको थियो, टाउको सडिसक्न लाग्दा भेटिएको थियो। हेर्दा छुट्टाउन सक्ने अवस्था थिएन,ʼ प्रहरी निरीक्षक चौधरीले भने।
प्रहरीका अनुसार टाउको सडेकाले हल्का सेतो कपाल मात्र देखिन्थ्यो। दुर्गन्ध आइसकेको थियो। लगभग बाहिरी भाग गलिसकेको अवस्थामा फेला परेको प्रहरीले बताए।
उक्त टाउको भेटिएको नजिकै गिट्टीको थुप्रो थियो। त्यही कारण शरीरका अन्य भाग छन् कि भनेर खोजी कार्य भयो। तर केही भेटिएन।
‘उक्त गिट्टीको थुप्रोलाई एक ठाउँबाट अर्को स्थानमा सारेर हेर्यौं। त्यो सामग्री ल्याउने ठाउँमा सोधपुछ भइरहेको छ। साथै गाउँ वरिपरि र आसपासका जिल्लामा कोही व्यक्ति हराएको छन् कि भनेर गोप्य रूपमा अनुसन्धान भइरहेको छ,ʼ प्रहरी निरीक्षक चौधरीले भने।
टाउको भेटिएकै दिन जिल्ला अस्पताल बैतडीले परीक्षणको लागि पठाइएको थियो। अहिलेसम्म रिपोर्ट आएको छैन। रिपोर्ट आएपछि सूचना जारी गरी खोजी कार्य तीव्र बनाउने बैतडी जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशी बताउँछन्।
‘शरीरको अन्य भाग कतै गाडिएको छ कि भनेर अनुसन्धान भइरहेको छ,ʼ उनले भने।
अहिलेसम्म कतै ज्यानमात्र भेटिएको खबर प्राप्त भएको छैन। त्यसैले डिएनए परीक्षणको रिपोर्ट कुरिरहेको उनले जानकारी दिए।
‘अबको एक दुई दिनमा अस्पतालको रिपोर्ट आउँछ,ʼ उनले भने।
डिएनएको रिपोर्ट प्राप्त भए उक्त व्यक्तिको पहिचान खुल्ने प्रहरीको भनाइ छ।