दार्चुलाको शैल्यशिखर नगरपालिका–३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार बेलुका साढे ६ बजेतिर खेत काम गरिरहेको एकै घरका तीन जना घाइते चट्याङ लागेर घाइते भएका थिए।
तीनै जनालाई गोकुलेश्वर अस्पतालमा उपचारका लागि लगिएकोमा १५ वर्षीय नरेश खत्रीलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मृतक खत्रीकी आमा अन्दाजी ३९ वर्षीया मिना खत्री र काका ३० वर्षीय कुमार खत्री सामान्य घाइते छन्।
उनीहरूको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।