जंगलमा आगलागी हुँदा दैलेखमा १२ जना घाइते भएका छन्।
आठबिस नगरपालिका-६ मा रहेको भाने सामुदायिक वनमा आगलागी हुँदा सडकको काम गर्न गएका १२ जना घाइते भएका हुन्।
'प्रधानमन्त्री रोजगार कार्यक्रमबाट निर्माण भइरहेको सडकको काम गरिरहेकाहरू आगलागीबाट क्षति नहोस् भनेर निभाउन गएका रहेछन्, आगोले ठूलो रूप लिएपछि घाइते भए,' आठबिस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालले भने, 'हामीले स्वास्थ्यकर्मीको टोली पठाएका छौं, प्रहरी पनि गएको छ।'
उद्धारका लागि नगरपालिकाको गाडी पनि पठाइएको उनले बताए।
उनका अनुसार नगरपालिकाको केन्द्र राकमबाट घटनास्थल जान आधा घण्टा लाग्छ।
'उद्धारका लागि हेलिकप्टर नै चाहिने भए व्यवस्थापन गर्न जिल्ला प्रशासनलाई आग्रह गरेका छौं,' मेयर बडुवालले भने।
प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।
'उद्धारका लागि सुरक्षा टोली गइसकेको छ, हामी थप तयारीका लागि छलफलमा छौं,' दैलेखका प्रहरी प्रमुखले भने।