डडेल्धुरामा पखाला लागेर अस्पताल आएकी एक बालिकाको मृत्यु भएको छ।
परशुराम नगरपालिका ८ गुप्तेगडाकी १४ वर्षीया संगीता धामी झाडापखालाबाट बिरामी भएर जोगबुढा अस्पताल पुगेकी थिइन्।
उपचारका लागि गएकी उनको मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।
झाडापखालाले सिकिस्त भएर अर्धबेहोस अवस्थामा मंगलबार बिहान ९ बजे जोगबुढा अस्पताल पुर्याइएको अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले बताए।
त्यस अवस्थामा रिफर गर्नु घातक हुने ठानेर उपचार सुरू गरिएको अस्पतालले जनाएको छ।
केही सुधार भएर फेरि धामीको अवस्था बिग्रिँदै गएपछि मंगलबार साँझ ५ बजे रिफर गरिएको थियो। त्यसपछि बाटोमै बालिकाको मृत्यु भएको थियो। पछि उनलाई फर्काएर अस्पताल पुर्याउँदा मृत घोषणा गरिएको थियो। मृतकका आफन्तले भने अस्पतालको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै विरोध गरेका छन्।
उनीहरूले मृतक बालिकाको शव उठाउन मानेका छैन। घटनाबारे छानबिन गरिनुपर्ने उनीहरूको माग छ। सोही गाउँका अन्य ३ जना पनि झाडापखालाका कारण अस्पताल भर्ना भएका छन्।