सामाजिक सञ्जालको दुरूपयोग गरी एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
साइबर ब्युरोले एक जनालाई बुधबार कीर्तिपुरबाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-६ का ३५ वर्षीय नरेन्द्र केसी छन्।
उनले एक महिलालाई फेसबुकमा साथी बनाएर कुराकानी गरेका थिए। ललाइफकाइ गरी उनले ती महिलालाई अश्लिलजन्य क्रियाकलाप गर्न बाध्य पारेको प्रहरीले जनाएको छ।
त्यसक्रममा केसीले स्क्रिन रेकर्ड गरी उक्त रेकर्ड देखाएर ब्ल्याकमेलिङ गरेको आरोप छ।
रेकर्डिङ पटकपटक पीडितलाई पठाएर आफूखुसी फाइदा लिएको र आफन्त तथा साथीहरू समेतलाई पठाएर चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो। उक्त उजुरीमाथि अनुसन्धान गरी ब्युरोले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ कसूर अन्तर्गत अनुसन्धान अघि बढाएको छ। उनीमाथि अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।